बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए ।

खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए । डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिश दिएका थिए ।

खेलको ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई बिपक्षी पोष्टको बाँया बार च्याप्दै बलले जाली चुमेको थियो । खेलको ६१ औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औ मिनेटमा सञ्जोग राईको कडा प्रहार बिपक्ष गोलकिपरले रोकेका थिए ।

खेल अवधिभर झापालाई दवावमा राख्न सफल भए पनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन । तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ दी म्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैंया पुरस्कार पाएका थिए ।

दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्र बाट २० इन्चको हिमस्टार टिभी पाएका थिए । बिर्तामोडको हिम इलेक्ट्रोन्क्सिले सबै खेलमा लक्की ड्र गरेर एकजना भाग्याली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ । आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासमा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए । कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।

फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापाका प्रशिक्षक प्रवेश कटुवालले पोखराको सेट टीमलाई हराउनु चुनौतिपुर्ण भए पनि सफलता मिलेको बताए । उनले उपाधि उचाल्नका लागि बिदेशी खेलाडी समेत ल्याएकोले दर्शकलाई निरास नपार्ने समेत बताए । यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो ।

पोखराका प्रशिक्षक प्रल्हाद हिराचनले टीमकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । मोफसलको सफल टीमलाई उसकै होम ग्राउण्डमा चुनौति दिनु मुस्किल परेको बताए ।

आयोजकका अनुसार उद्घाटन खेलमा २२९० वटा टिकट बिक्री भएको थियो । जसमा एक सय दरका १७९० जनाले टिकट खरिद गरे भने बाँकी दुई सय दरका टिकट बिक्री भएको हो । टिकट बिक्रीबाट २ लाख ६८ हजार ६ सय रुपैयाँ संकलन भएको छ ।