बिर्तामोड । तनावपूर्ण खेलमा जीत दर्ता गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम यहाँ जारी चौथो मग मग झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । उसले त्रिभुवन आर्मीसँग भेट पनि पक्का गरेको छ ।

खेल सुरु भएको ९ मिनेटपछि खेलाडीको रिलिज पेपरको विषयमा खेलमा तनाव सिर्जना भयो । मोरङका तीन जना खेलाडी काठमाडौँको विभिन्न क्लबमा अनुबन्धित भएको तर रिलिज पेपर नभएको भन्दै एपीएफको अफिसियलले खेल रोक्न अपिल गरेका थिए । खेल २३ मिनेट रोकियो ।

मोरङले रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

यसैबीच, ४५+९ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडि बढेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक गरी गोल गर्न सफल भए ।

२४औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए ।

खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ ।

हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।

खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए ।

पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दबाब दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए । उनले मोरङको टीम कलेक्सन भएकाले पनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्वीकार गरेका छन् ।