झापा । झापा गोल्डकपमा दाउफिन्स एफसी क्यामरुनले सहभागिता जनाउने भएको छ ।
गोल्डकप आयोजक समितिले यसअघि मनाङ मस्र्याङ्दी क्लबलाई टाइसिटमा समेटेको थियो तर एएफसी कपको तयारीका लागि समय अभाव हुने भएपछि दाउफिन्सलाई समेटिएको हो ।

‘ए’ डिभिजन लिग च्याम्पियन मनाङको स्थानमा दाउफिन्स फुटबल क्लब क्यामरुनले सहभागिता जनाउने भएको झापा गोल्डकप आयोजक समितीले जनाएको छ । यो सँगै अब बिहीबार रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब भिड्ने भएका छन् ।

आयोजकका महासचिव गजेन्द्र पौडेलका अनुसार गोल्डकपमा सहभागिता जनाउन दाउफिन्स बुधबार बिहानै झापा आइसकेको छ ।

मनाङका महासचिव अनिल गुरुङले एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको बताएका छन् । एएफसी कप अप्रिल ३ बाट हुँदैछ । उनले टिमले एएफसी कपको लागि बिहीबारबाट प्रशिक्षण सुरु गरिने बताए । प्रशिक्षण एन्फा कम्प्लेक्समा हुनेछ ।

टिमका कप्तान विराज महर्जनले मुख्य खेलाडीहरु घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको बताए । ‘आउट अफ भ्यालीभन्दा पनि हामीलाई अहिले एएफसी कप बढी महत्वपुर्ण छ’ कप्तान महर्जनले भने, ‘टिम पनि सेफमा छैन । मुख्य खेलाडी अन्जन विष्ट, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र एडिलाजा सोमिडेलगायतका खेलाडीहरु इन्जर छन् । एएफसी कप नजिकिदै गर्दा मोफसल खेलेर टिमलाई झनै गाह्रो बनाउने छैनौं ।’

गत पुसमा लिग च्याम्पियन भएयता, मनाङले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको फाइनलमा मात्रै पुग्न सफल भएको थियो । झापा गोल्डकपको खेलतालिका अनुसार मनाङले फागुन २३ गते बिहीबार लाली रूपन्देही–११ सँग क्वाटरफाइनल खेल्ने तालिका रहेको थियो ।  दाउफिन्स र रुपन्देही ११ बीच हुने खेलको विजेताले त्रिभुवन आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।