बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज थ्री स्टार र विभागीय टोली नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ ।

दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका खेलाडीहरु समेत रहेका यी दुई टोलीबीचको खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विजयी हुने टोलीले फाइनल प्रवेशका लागि आगामी शुक्रबार आयोजक झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

तीन विभागीय टोलीसहित १० टिमको सहभागीता रहेको प्रतियोगितामा आजसम्म हङकङ नेप्लिज एकाडेमी, सहारा क्लब पोखरा, मोरङ ११ र शसस्त्र प्रहरीको एपीएफ क्लब पराजित हुँदै घर फर्किसकेका छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् ।