झापा । विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ३—० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक तेस्रो क्वार्टरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाईब्रेकर रोजिएको थियो । टाईब्रेकरमा गोलरक्षक एलन न्यौपाने नायक बन्दा थ्रीस्टार अन्तिम चारमा पुग्न समय भयो । टाईब्रेकरमा पुलिसका विराट शाह र अजित भण्डारीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए ।

थ्रीस्टारका तर्फबाट विजय धिमाल, बुद्धराज लिम्बु र रुपेश केसी गोल गर्न सफल भए । पुलिसका रवी पासवानको प्रहार बाहिरीएको थियो । खेल अवधीभर दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

खेलमा म्यान अफ दी म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । बिहीबार रुपन्देही ११ एफसी र दाफिन्स फुटबल क्लब क्यामरुनबीच खेल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।