0 Shares

बिर्तामोड । जारी चौथो झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको भिड्दैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।

दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । स्वदेशी र विदेशी टोलीबीचको खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । राष्ट्रिय टोलीका फरवार्ड भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथु सहित मैदान उत्र्ने आर्मीले जारी प्रतियोगितामा विभागीय टोली एपीएफलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आज विजेता हुने टिमले उपाधिका लागि आगामी सोमबार आयोजक झापा ११ सँग फाइनल खेल खेल्ने छ ।

तीन विभागीय टोलीसहित १० टिमको सहभागीता रहेको जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् । फाइनल खेल आगामी सोमबार हुनेछ ।