झापा । मग मग झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणमा पनि पूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मान गर्ने भएको छ ।

आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यसवर्ष अन्तर्राष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागिएको हो ।

२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए । उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए । तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षकसमेत हुन् ।

अर्की सम्मानित खेलाडी अस्मिता खवासले पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्य बनेकी थिइन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यू गरेकी खवास अहिले यु १९ महिला फुटबल टिमकी प्रशिक्षक हुन् ।

सन् २००२ मा नर्वेमा भएको नर्वे कप, २००४ मा चीनमा भएको एसियन गेम, २०१० मा बंगलादेशमा भएको सागसहित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइन् भने सन् २०१२ मा गोलरक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसबेला एउटा दुर्घटनामा परेपछि उनले फुटबल खेल्न छाडिन् तर फुटबललाई छाडिनन् । अहिले उनी प्रशिक्षककै भूमिकामा छन् । अस्मिताले महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालदेखि आप्mनै ठाउँमा सन साइन महिला फुटबल क्लब स्थापना गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन् ।

आयोजकले प्रत्येक वर्ष पूर्व फुटबल खेलाडीलाई नगदसहित सम्मान गर्दै आएको छ । गतवर्ष पूर्व राष्ट्रिय खेलाडी सैनिकका राम दर्शन गुरुङ र सुरुङ्गाका सन्त रायामाझीलाई नगद २५ हजारसहित सम्मान गरेको थियो ।पहिलो गोल्डकपमा अर्जुनधाराका दिपेन्द्र ढकाललाई सम्मान गरिएको थियो । उनी पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

यसवर्ष सम्मानित हुने व्यक्तित्वलाई पनि नगद २५ हजारसहित चौथो गोल्डकपको फाइनलमा विशेष सम्मान प्रदान गरिने अध्यक्ष गिरीले जानकारी दिए । फुटबल खेलमा झापाबाट प्रतिनिधित्व गर्ने पूर्व खेलाडीलाई बर्सेनि सम्मान गर्दै लैजाने आयोजकको भनाइ छ ।

आयोजकले यसैवर्ष क्यान्सरपीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई नगद २५ हजार उपचारार्थ सहयोग प्रदान गरेको थियो ।