बिर्तामोड । सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबारबाट हुने भएको छ ।

महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ गरिने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार प्रभात फेरी हनुमान सेन्ट्रलबाट सुरु भइ शनिश्चरेरोड, कृषिथोक, इलाम स्टेण्डहुँदै हनुमान सेन्ट्रलमा नै पुग्नेछ । प्रभात फेरीमा सयौँ संघसंस्था सहभागी हुनेछन् । ‘३० वटा शिक्षण संस्थालाई निमन्त्रण गरेका छौँ’, उनले भने ।
कार्यक्रममा ३५ लाखभन्दा बढीका सामग्री हस्तान्तरण गरिँदैछ । जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिने संयोजक गिरीले बताए ।

त्यस्तै, अनारमनी ३ मा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएको छ । उक्त भवनको सोही कार्यक्रममा डिजिटल प्रविधिबाट शिलान्यास गरिने भएको छ । प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।

यसैबीच, सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ पनि सोही कार्यक्रमबाट हुने भएको छ । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
उनका अनुसार न्यूनीकरण अभियान झापामा बिहीबार भए पनि अन्य जिल्लामा चैत १ गते सुरु हुनेछ । महाअभियानको समापन भने धरानमा हुने बताइएको छ ।