विराटनगर । यहाँ जारी महिला दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा आइबारको खेलबाट भारत समूह बी विजेता भएको छ ।

श्रीलंकालाई ५–० गोलको फराकिलो नतिजाबाट पन्छाएर भारत समूह विजेता भएको हो । अब श्रीलंकाले पहिलो सेमिफाइनल खेलमा नेपालसँग भेट पक्का गरेको छ । नेपाल समूह एको विजेता हो । भारतले सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतका लागि खेलको ४ मिनेटमै दङमीले गोलपोस्टबाट रिबाउन्ड भएको बललाई हेडमार्फत गोल गरेकी थिइन् । त्यसको तीन मिनेटमै सञ्जुले गोल गरेर अग्रता दोब्बर बनाइन् । ३६औँ मिनेट अर्को गोल गर्दै सञ्जुले व्यक्तिगत दोस्रो गोल गरिन् ।

खेलको ४४औँ मिनेटमा भारतले पेनाल्टीमार्फत गोल ग¥यो । श्रीलंकालन् डिफेन्डर रुसानीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा भारतकी संगीताले गोल गरेकी हुन् । पाँचौ गोल भने तीन मिनेटपछि रतनबालाले गरेकी थिइन् ।

सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ ।