विराटनगर । श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।

बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

१६ औं मिनेटमा सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् ।

३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । तर गोलको खडेरी तोड्दै पुनम जर्घामगरले सावित्रा भण्डारीको हेड पासमा सुन्दर गोल गरिन् ।

दोस्रो हाफमा अझ सुधारिएको प्रदर्शन गरेको नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६० औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।

७३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो । श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गर्न सफल भइन् ।

८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । प्रतियोगितामा यो उनको तेस्रो गोल हो । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् ।

खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी हुन् ।

नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचकाे खेलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।