विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियाे ।

महिला फुटबलमा दुवै टोली १० पटक भिडेका छन् । जसमा भारतनै हाबी देखिएको छ । खेलिएका १० खेलमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो एक खेल नेपालले जितेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेलिएका ४ खेलमा तीन पटक भारत विजयी भएको भने एक खेल बराबरीमा सकिएको ईतिहास छ । टोकियो ओलम्पिकका लागि भएको छनोट प्रतियोगितामा भने नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । अघिल्लो महिना भएको भारतमै आयोजना भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई २–१ ले हराएको थियो ।

भारतविरुद्व पछिल्लो समय प्राप्त जितले टोलीको मनोबल उच्च रहेको मुख्य प्रशिक्षक हरी खड्का बताउँछन् । ‘भारत दक्षिण एसियाको फुटबलमा सदाबहार देश हो भने हामी स्थापित हुँदैछौं । टिम सम्हाल्न थालेपछि हामीले भारतसंग २ खेलेका छौं जसमा एक बराबरी खेलेका छौं भने हामीले १ जित पनि हात पारेका छौं ।’ नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल अघि भने, ‘त्यस कारणले खेलाडीहरुको मनोबल उच्च रहेको छ । अब हामीले उनीहरुको २र३ जना प्रमुख खेलाडीलाई रोक्दै हामीले आफ्नो बलियो पक्ष प्रयोग गर्ने छौं।’

‘यो हाम्रो घरेलु मैदान हो । जन्मभुमी हो । त्यसैले हामी रेकर्ड तोड्न तयार छौं । खेलाडीहरु उत्साहित छन् र मनोबल पनि उच्च रहेको छ । भोली हाम्रो दिन हुनेछ र हामीले उपाधि पनि उचाल्ने छौं भन्नेमा विश्वास छ ।’ उनले थपे ।