काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार भएको चुनावी साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ कार्यकालको लागि भएको निर्वाचनमा सुवेदीले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकास तिमल्सिनालाई पराजित गरे ।

कुल ९८ सदस्य रहेको मञ्चको निर्वाचनमा सुवेदीले ५५ मत प्राप्त गर्दा तिमल्सिनाले ४१ मत पाएका थिए । यस्तै महासचिवमा काठमाडौँ पोस्टका प्रज्वल ओली निर्वाचित हुँदा सचिबमा अन्नपुर्णका गोबिन्द रेग्मी निर्वाचित भए ।

उपाध्यक्षमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर र इमेज च्यानलका निराजन अधिकारी निर्वाचित भए । प्रथम उपाध्यक्षमा सन्जिब शिल्पकार निर्विरोध हुँदा कोषाध्यक्षमा राइजिङ नेपालका अन्जन खड्का निर्विरोध चुनिए ।

यस्तै सदस्यमा खेलपाटी डटकमका सम्पादक हिम विक्रम केसी, राजधानी दैनिकका दिल तामाङ र नागरिक दैनिकका अनिल मल्ल निर्वाचित भए । महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध चुनिइन् ।