फिदिम । डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापाले पाँचथर गोल्डकपमा आइतबार जीत निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

रेडहर्स एफसी इलामलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बिर्तामोडले दोस्रो चरणको स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

वर्षाले मैदानमा पानी जमेपछि खेलाडीलाई प्रतिस्पर्धा गर्न असहज भएको थियो । हिलाम्मे मैदानमा पहिलो गोल बिर्तामोडका डिकेश लिम्बूले खेलको १०औँ मिनेटमा गरेका थिए । तर, इलामका विरेन्द्र लिम्बूले ३३औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा पु¥याए ।

खेलको म्यान अफ दी म्याच बिर्तामोडका योगेश गुरुङ घोषित हुँदै नगद ५ हजार पाउन सफल भए । भोलि आयोजक पाँचथर एफसी र डिएफसी मोरङबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख पाउनेछ ।