बिर्तामोड । वर्ल्ड बडी विल्डिङ च्याम्पियन महेश्वर महर्जन एक समारोहका बीच झापामा सम्मानित भएका छन् ।

महेश्वरलाई झापाका जीम तथा फिटनेश व्यवसायीले सम्मान गरेका हुन् । बडी विल्डिङको माध्यमबाट सिंगो देशको गरिमा उच्च बनाएको भन्दै झापाका करिब दुई दर्जनभन्दा बढी जीम तथा फिटनेश व्यवसायीहरुको छाता संगठन जीम तथा फिटनेश व्यवसायी संघ झापाले सोमबार बिर्तामोडमा सम्मान गरेको हो ।

महर्जनले गत डिसेम्बरमा काठमाडौँमा सम्पन्न १०औँ विश्वस्तरीय शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त गरेका थिए । थाइल्याण्डले आयोजना गरेको प्रतियोगिताबाट नेपालकै लागि ऐतिहासिक जीत निकालेका महर्जनले मिस्टर युनिभर्स आप्mनो अर्को लक्ष्य भएको सुनाए ।

२४ वर्षदेखि यस खेल क्षेत्रमा आवद्ध महर्जनले परिवारको मध्यम स्तरका कारण अनेक हण्डर खानुपरेको भन्दै निरन्तरताकै कारण सफलता मिलेको अनुभव सुनाए । होटलदेखि विदेशसम्म रोजगारीका लागि पुगेका महर्जनले नेपाल र नेपालीको खुट्टा तान्ने गलत संस्कारले सोचेजस्ता सफलता मिल्न नसकेको सुनाए ।

झापालीले सम्मान गरेकोप्रति खुसी व्यक्त गरेका उनले स्वास्थ्यप्रति सचेत युवा वर्गलाई निरन्तरताका लागि शुभकामना पनि दिए । उनीसँगै लामो समय शारीरिक सुगठनमा रहेका सुकदेव कार्कीलाई पनि मायाको चिनो प्रदान गरेर सम्मान जनाइयो ।

संघका संयोजक आशिष बनको अध्यक्षता तथा युवा व्यवसायी दिपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सन्तोष अग्रवालले शुभकामना मन्तव्य राखेका थिए । आमन्त्रितलाई सञ्चारकर्मी लीला अनमोलले स्वागत गरेकी थिइन् । कार्यक्रममा ग्लामरस नेपालका कोरियोग्राफर आसिम ज्वयल श्रेष्ठले महर्जनलाई सम्मानपत्र प्रदान गरेका थिए ।