फिदिम । भारतको दार्जीलिङ युनाइटेड यहाँ जारी तेस्रो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलले पराजित गर्दै दार्जीलिङ सेमिफाइनल प्रवेश गरेको हो । पहिलो हाफको १९औँ मिनेटमा झापाका दिलेन लोक्तामले आत्मघाती गोल गरेपछि दबाबमा परेको थियो ।

दार्जीलिङका लागि करण राईले २७औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । पहिलो हाफकै इन्जुरी समयमा करणले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर फराकिलो बनाए ।

दोस्रो हाफमा सम्हालिएको झापाले केही गोलको अवसर सिर्जना गरे पनि जीत दर्ता गर्न सकेन । खेलको ८०औँ मिनेटमा दिलेनले गोल गरेर खेलमा फर्किने कोशिस गरे ।

त्यस्तै, झापाकै विशाल राईले ८४औँ मिनेटमा गोल गरेर दूरी कम गरे पनि जीत सम्भव भएन । यसअघिका दुई संस्करणका विजेता झापाली टोली यो हारसँगै घर फर्किएको छ ।

खेलको म्यान अफ दी म्याच दार्जीलिङका करण राई घोषित हुँदै पाँच हजार नगद पाउन सफल भए । बुधबारको खेल हेटौडाको विजय युथ क्लबविरुद्ध काठमाडौँको जावलाखेल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । विजेताले नगद चार लाख पाउनेछ ।