इलाम : इलामको मंगलबारेमा आगामी ७ वैशाखदेखि चौथो संस्करणको देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ ।

देउमाई नगरपालिका ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा हुने प्रतियोगिता तयारी तीब्र पारिएको विहीबार इलाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

स्थानीय त्रिवेणी युथ क्बलको आयोजनामा संचालन हुने गोल्डकपमा छिमेकी भारतका सहित ८ टिमको सहभागीता रहनेछ । प्रतियोगीतामा न्युस्टार फूटवल क्वब सुनसरी, फ्रेन्डस् क्लब काठमाडौं, रेडस्टार क्लब विर्तामोड, उर्लाबारी फूटबल क्लब मोरङ, सिक्किम युनाईटेड भारत, मुनाल क्लब चन्द्रगडी, रेडहर्ष क्लब इलाम र आयोजक त्रिवेणी क्लबको सहभागीता रहनेछ ।

विजेताले नगद २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोलरक्षक, उत्कृष्ठ मिड फिल्डर, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ फरवर्ड प्रत्येकले नगद ५ हजार पाउनेछन् । म्यान अफ द म्याचले २ हजार ५ सय पाउनेछ । प्रतियोगिताको फाइनल १४ वैशाखमा हुने आयोजक त्रिवेणी युवाक्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

०७० सालदेखि सुरु भएको देउमाई गोल्डकप ०७२ र ७३ मा भने स्थगित भएको थियो । ०७२ गएको भूकम्पबाट खेलमैदान क्षति भएपछि प्रतियोगिता हुन सकेको थिएन । त्यसलाई निरन्तरता दिन यस वर्षबाट पुनः प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।