झापा । पाँचथर गोल्डकपको उपाधि डाँगीहाट एफसी मोरङले जित्दा विक्रम लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

आयोजकले सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर पुरस्कारस्वरुप व्यवस्था गरेको थियो । खेल सकिएपछि विक्रमले ‘खेल जीवनकै सबैभन्दा ठुलो उपलब्धी’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरे ।

१६ वर्षको खेल जीवनमा विक्रमले पहिलोपल्ट यस्तो खुसी व्यक्त गरेका हुन् । १५ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका विक्रमले चार वटा ए डिभिजन क्लबबाट खेलिसकेका छन् । के उनको सबैभन्दा ठुलो उपलब्धी यही हो त ?

‘पुरस्कार त धेरै पाइयो’, उनले भने, ‘तर, पुरस्कारस्वरुप स्कुटी पाएको भने पहिलोपल्ट हो ।’ यसअघि उनले पुरस्कारस्वरुप नगदमात्र पाउने गरेको सुनाए । त्यो नगद पुरस्कारभन्दा अहिले एक थान स्कुटी पाउँदा औधी खुसी लागेको उनले बताए ।

गाउँको क्लबबाट बर्सेनि पाँचथर गोल्डकपमा सहभागिता जनाउँदै आएको उनको टिमले तेस्रो संस्करणको उपाधिमात्र जितेन । अन्य महत्वपूर्ण विधागत पाँच वटा पुरस्कार पनि जितेको छ । जसमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

‘सर्वोत्कृष्ट खेलाडी बन्छु भन्ने आश चाहिँ थिएन’, उनले भने, ‘पुरस्कार पाउने आशले खेलेको पनि होइन, दाबेदार खेलाडी अरु पनि थिए तर मेरो नाम आउँदा खुसी लाग्यो ।’

मछिन्द्र क्लबबाट ए डिभिजन क्लबमा डेब्यू गरेका उनले त्यहाँ २ वर्ष व्यावसायिक फुटबल खेले । तीन वर्ष मनाङबाट खेलेका उनले २ वर्ष जावलाखेल युथबाट पनि खेले । अहिले उनी च्यासल एफसीमा आवद्ध छन् ।

फुटबल करिअरको उत्तराद्र्धमा यस्तो पुरस्कार पाउँदा उनी दंग छन् । ‘खेल जीवनकै ठुलो उपलब्धीको रुपमा लिएको छु’, उनले भने । तर, उनले पुरस्कारस्वरुप पाएको स्कुटीलाई उनले के गर्छन् ? आफैँ अनिर्णित छन् ।

अधिकांश खेलाडीले पाएको पुरस्कारलाई नगदमा रुपान्तरण गर्ने गरेको उदाहरण बग्रेल्ती छन् । ‘अहिले त्यो विषयमा सोचेको छुइँन’, विक्रमले भने । हुन त आयोजकले स्कटु हस्तान्तरण गरिसकेको पनि छैन ।