झापा । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानामगरले प्राप्त तालिमलाई इलम बनाउनुपर्ने बताएका छन् ।

नगरपालिकाको पशु पंक्षी विकास शाखाले शनिबारदेखि सुरु गरेको दुग्ध पदार्थ विविधिकरण तालिमको उद्घाटन गर्दै मेयर रानाले तालिमलाई तालिमकै रुपमा लिइने प्रवृत्तिको अन्त्य गर्दै स्वरोजगार बन्नुपर्ने बताए ।

बेरोजगार न्यूनीकरणमाा पशुपंक्षी शाखाले ल्याएको कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरेका उनले नगरको लगानी खेर नफाली तालिम पछि सहभागी स्वरोजगार बने उद्देश्य सार्थक हुनेमा जोड दिए ।

श्रम भएका तर रोजगार नभएका नगरबासीलाई क्रमिकरुपमा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउँदै उनले नगरमा उत्पादन भएर नगरमै खपत हुने वातावरण तालिमपछि बन्नै पर्ने भन्दै सहभागीलाई स्वरोजगार बन्न आग्रह गरे ।

पशु पंक्षी विकास शाखा अधिकृत पदमलाल राईले तालिमको औचित्यमाथि प्रकाश पार्दै कृषकले उत्पादन गरेको दूधले बजार नपाउने र सञ्चालनमा रहेका डेरी उद्योगले दूध नपाएर लक्षित उत्पादन गर्न नपाउने समस्या समाधानका लागि पनि तालिम आयोजना गरिएको जानकारी दिए ।

दुवै पक्षको समस्या समाधान गर्दै युवालाई रोजगारमुखी बनाउन तालिमले मद्दत पुर्याउने विश्वास लिएका अधिकृत राईले डेरी सञ्चालन गर्नेलाई ज्ञान, सीप र सञ्चालन नगर्नेलाई स्वरोजगार बनाइने बताए ।

उद्घाटन कार्यक्रमलाई स्वागत गर्दै उपमेयर कमला खतिवडा आचार्यले तालिमबाट नगरमा भित्रिने अखाद्य वस्तु, मिसावट हुने समस्या समाधान हुने विश्वास व्यक्त गरे । तालिमको उद्घाटन अतिथिसँगै सहभागीले दूधबाट बनेको लस्सी पिएर गरिएको थियो ।

पशु अधिकृत राईका अनुसार नगरका १८ महिलासहित ३५ जना तालिमका लागि अन्तरवार्ताबाट छनोट गरी सहभागी गराइएको छ । तालिममा इलामबाट लीला भट्टराई, विराटनगरबाट दामोदार ढकाल प्रशिक्षकका रुपमा रहेका छन् । उत्कृष्ट १४ जना सहभागीलाई तालिमपछि स्वरोजगार बन्न सशर्त दूग्ध परिकार बनाउनका लागि सामग्री प्रदान गरिने बताइएको छ ।

१२ गते समापन हुने तालिममा सहभागीलाई दूधका परिकार आइसक्रिम, लस्सी, दही, ललीपप, पुष्टकारी, बम्बइसम, पेडा, वर्फी, कुल्फी र फ्रेस मिल्क बनाउने तरिका सिकाइने बताइएको छ ।