झापा । इलामको पाहुना टोली रेड हर्स एफसीलाई टाइब्रेकरमा रोक्दै आयोजक जलथल एफसी जारी दोस्रो हल्दिबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा ५–३ गोलको नतिजाबाट आयोजक अन्तिम चारमा पुगेको हो । निर्धारित खेलमा आयोजकका लागि सुसिल राईले गोल गरेर अग्रता दिलाएका थिए ।

तर, खेल सकिन एक मिनेट पनि बाँकी नरहेको अवस्थामा रेड हर्सका कप्तान मनिष थापाले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, टाइब्रेकरमा भने इलाम अभागी बन्यो ।

टाइब्रेकरमा इलामका विशाल लामाको प्रहार बाहिरियो भने मनिष थापा, पिकेश गुरुङ र दिपेश लिम्बूको प्रहारमात्र गोलमा परिणत भयो ।

त्यस्तै, आयोजकका लागि सुसिल राई, हेमन्त थापामगर, अभिषेक लिम्बू, निशान्त खड्का र विनोद मेचेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच आयोजकका सन्जित राई घोषित भए । उनले नगद तीन हजार पाए ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । सोमबारको खेल सुनसरीको पाञ्चायन एफसी र झापाको रेड स्टार एफसीबीच हुनेछ ।