झापा । जारी दोस्रो हल्दिबारी गोल्डकपको सोमबारको खेलबाट रेड स्टार एफसी झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको पाञ्चायन एफसीलाई ४–२ गोल अन्तरमा पराजित गर्दै रेड स्टारले सेमिफाइनलको यात्रा तय गरेको हो । रेड स्टारका लागि शक्ति राई र सरोज कार्कीले २–२ गोल गरे ।

पहिलो हाफमा २–० को नतिजाबाट खेलमा फर्किने प्रयास गर्दा पाञ्चायन एफसीका खेलाडीले दोस्रो हाफको मध्यतिर २–२ गोलको बराबरी गरेको थियो । पहिलो हाफमा शक्ति राईले दुवै गोल गरेका थिए भने सरोज कार्कीले दोस्रो हाफमा दुई गोल गरे ।

खेलमा २–० को स्थितिमा उल्टाउने क्रममा पाञ्चायन एफसीका लागि सन्दिप लिम्बूले पहिलो गोल गरेका थिए । दोस्रो गोल कप्तान तीर्थ बस्नेतले गरे पनि सरोज कार्कीले गोल गरेर पाञ्चायनलाई पहिलो खेलबाट घर फर्काए ।

खेलको म्यान अफ दी म्याच रेड स्टारका शक्ति राई घोषित भए । उनले नगद तीन हजार पाए । उनी ह्याट्रिक गर्न पटक पटक चुकेका थिए ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । मंगलबारको खेल मोरङको ब्रदर्स क्लब र चन्द्रगढीको मुनाल क्लबबीच हुनेछ ।