झापा । कञ्चन श्रीमा जारी दोस्रो हल्दिबारी गोल्डकपको मंगलबारको खेलमा उर्लाबारीको ब्रदर्श युनाइटेड क्लबले शानदार जीत दर्ता गर्यो ।

चन्द्रगढीको मुनाल क्लबमाथि ५–० गोलको फराकिलो जीत निकाल्दै ब्रदर्श युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । रेजिन सुब्बा, पुजन उपरकोटी, बुद्धबल तामाङजस्ता खेलाडी मैदान उतारेको मुनाल खेलको अवधिभर दबाबमा रह्यो ।

ब्रदर्श युनाइटेडका लागि व्यक्तिगत दुई गोल गरेका सनम भुजेललाई फुटबलप्रेमीले नगद ११ सय पुरस्कार प्रदान गरे । त्यस्तै, अर्का गोलकर्ता साइमान लिम्बू म्यान अफ दी म्याच घोषित हुँदै नगद तीन हजार पाउन सफल भए ।

एकतर्फी खेलमा ब्रदर्शका लागि सौजन याख्खा राई र सुमन चाम्लिङले थप गोल गरेर फराकिलो अन्तर निकालेर अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । यो खेलसँगै सेमी समिकरण पूरा भएको छ ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । बुधबारको पहिलो सेमिफाइनल खेल बिर्तामोडको रेड स्टार एफसी र काठमाडौँको चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।