झापा । काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेडलाई स्तब्ध पार्दै आयोजक जलथल एफसीले कञ्चन श्रीमा आयोजित दोस्रो हल्दिबारी गोल्डकपको उपाधि चुमेको छ ।

फाइनलमा आयोजकल जलथल एफसीले २–० गोलले पराजित गर्दै चर्च ब्वाइजलाई स्तब्ध बनाएको हो । उसका लागि सञ्जोग राई र गणेश हेमरमले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा आयोजकका सुशील राई म्यान अफ दी म्याच घोषित हुँदै नगद ३ हजार पाउन सफल भए । आयोजककै मनोज प्रधान बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर हेमन्त थापामगर, बेस्ट डिफेन्स निशान्त खड्का र बेस्ट कोच पेम्बा लामा घोषित हुँदै जनही ५ हजार नगद पाउन सफल भए ।

बेस्ट फरवार्डमा चर्च ब्वाइजका भुवन बस्नेत घोषित भइ नगद ५ हजार पाउँदा आयोजकका सञ्जोग राई सर्वाधिक गोलकर्ताको उपाधिसहित नगद ८ हजार पाउन सफल भए । त्यस्तै, आयोजककै विनोद मेचे सर्वोत्कृष्ट खेलाडी घोषित भएर नगद १० हजार पाउन सफल भए ।

आठ टिम सहभागी गोल्डकपको विजेता आयोजक जलथलले नगद १ लाख २१ हजार १११ र उपविजेता चर्च ब्वाइजले ६१ हजार १११ रुपैयाँसहित ट्रफी पायो । विजेता तथा उपविजेता टिमलाई सांसद पूर्णसिंह राजवंशी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए ।