काठमाडौं । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको आज बिदाई गरिएको हो ।

एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (–६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (–६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् ।

एशोसिएशनका केन्द्रीय सचिव पुरन गिरीको सभापतित्वमा आयोजित विदाई कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो पोखे ।

सम्पुर्ण मार्सल आर्टका खेलहरु बुद्ध धर्मसंग सम्बन्धित रहेको बताउदै उनले जुडो, उस्सु, ताईकुण्डो र कराँतेका खेलहरु एकै वर्गका भएको पनि टिप्पणी गरे । कराँते खेलमा उमेरको कुनै समय सिमा नरहेको बताउदै उनले सबैभन्दा बढि पदक पनि कराँतेले नै जितेको जानकारी गराएका थिए ।

कराँतेलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै उनले सरकारले पनि उचित लगानी गर्न आवश्यक रहेको बताए । साथै, उनले प्रतियोगितामा सहभागी खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देखाए आफुलेपनि आर्थि सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले भने,‘हाम्रा खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देशको नाम र खेलको प्रतिष्ठा बढाउनेछन भन्नेमा म पूर्ण विश्वस्त छु । खेलाडीहरुलाई मेरो तर्फबाट सफलताको लागि हार्दिक शुभकामना छ ।’

कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो पोखे । राज्यले सहयोग नगरेपनि उक्त प्रतियोगितामा तीनै जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्नेसमेत उनको उद्धघोष छ ।

कार्यक्रममा साउथ एशिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कराँते खेलको जन्म जापानबाट नभई नेपालबाटै भएको दाबी गरे । उनले कराँते खेलको संरक्षण र प्रर्वद्धनमा सबैले जोड दिनुपर्ने आवश्यकत्ता औंल्याए ।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुसामू देशको नाम उँचो बनाउने र ईतिहास रच्ने सुनौलो मौका रहेको बताउँदै उनले खेलाडीले जित्ने जुनसुकै मेडल सानो वा ठुलो नहुनेपनि स्पष्ट पारे । उनले थपे,‘सबै पदकहरुको आ–आफ्नो महत्व र प्रतिष्ठा हुन्छ ।’

नेपाल र नेपालीको संस्कृति जोडिएको खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गर्न आफु लागिपरेपनि सफल नहुँदा नमिठो लागेको उनको दुःखेसो थियो । उनले थपे,‘सुर्य उदाउनुभन्दा पहिले नेपालमा खेलिने खेलको रुपमा कराँतेनै थियो । राज्यले यो खेलमा लगानी गर्नुपर्छ । र खेलाडीहरुको लागि राम्रो वातावरण सृजना गर्न आवश्यक छ । सरकारले यसतर्फपनि ध्यान दिओस् भन्ने मेरो आग्रह छ ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय झण्डा महाअभियानका अभियन्ता पुरन गिरीले प्रतियोगी खेलाडीको मनोबल बढाउन आफुहरुको हौसला, साथ र सहयोग सदैव तयार रहेको धारणा राखेका थिए ।

आफु पनि मार्सल आर्टको पुर्व खेलाडी रहेको बताउँदै उनले राज्यले खेलाडीको भबिष्यलाई सोचेर खेलका नीति तथा प्रगतिका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको प्रकाश पारेका थिए ।

कार्यक्रममा आयोजकको तर्फबाट अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेपा, साउथ एसियन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वरलाल जोशीलाई मायाको चिनो प्रदान गरिएको थियो ।