काँकरभिट्टा । पाहुना टोली पारो एफसी भुटानलाई फराकिलो अन्तरले पराजित गर्दैै नेपाल पुलिस क्लब यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार काँकरभिट्टा माविको मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा पुलिसले भुटानलाई ३–० गोल अन्तरमा पराजित गरेको हो । पुलिसको जीतका लागि कप्तान भरत शाह र रवि पासवानले गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत शाहले गोल गर्दै टिमलाई अग्रता दिलाए । एकपछि अर्को दबाब सिर्जना गरेको पुलिसका लागि खेलको ५६औँ मिनेटमा गोल गर्दै रवि पासवानले अग्रता दोब्बर बनाए । उनैले २ मिनेटपछि अर्को गोल गरेर व्यक्तिगत दुई गोल गर्न सफल भए ।

खेलको म्यान अफ दी म्याच पुलिसका रवि पासवान घोषित भए । उनले नगद ११ हजार पाए । १० टिम सहभागी गोल्डकपको विजेताले नगद १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।

मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल रुस्लान थ्री स्टार क्लब र माइभ्याली फुटबल क्लब इलामबीच हुनेछ ।