काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्येक वर्षको वैशाख २२ गते एन्फा दिवस मनाउने निर्णय गरेको छ ।

विभिन्न विधाका व्यक्तित्वलाई अवार्डसहित पुरस्कृत गर्दै एन्फा दिवस मनाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । निर्णयअनुसार एन्फाले विभिन्न विधाका ११ जना व्यक्तित्वलाई पुरस्कृत गर्नेछ । पुरस्कार राशि भने फरक रहने बताइएको छ ।

पुरस्कृत हुने विधामा विशेष योगदान खेलाडी अवार्ड २०७५ (पुरुष) र महिला, वर्ष उत्कृष्ट प्रशिक्षक २०७५, वर्ष उत्कृष्ट जिल्ला फुटबल संघ २०७५, वर्ष उत्कृष्ट क्लब २०७५, लाइफटाइम अचिभमेन्ट अवार्ड २०७५, विदेशी भूमिमा उत्कृष्ट व्यावसायिक खेलाडी २०७५, पूर्वकप्तान स्व. मणिविक्रम शाहको स्मृतिमा उदीयमान खेलाडी २०७५ पुरुष र महिला, पूर्व फिफा रेफ्री स्व. रुपकराज शर्माको स्मृतिमा उत्कृष्ट रेफ्री २०७५ पुरुष र महिला विधामा अवार्ड प्रदान गरिनेछ ।