झापा । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणतर्फ आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक म्यानमारको सामना गर्दैछ ।

आफ्नो लगातार दुई खेलमा लज्जाजनक प्रदर्शन गरेको नेपालका लागि आजको खेल प्रतिष्ठासँग पनि जोडिएको छ । म्यानमार विरुद्ध आज नेपालले आफू अनुकुल नतिजा निकाल्दै प्रतियोगिताको सुखद समापन गर्न चाहन्छ ।

आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ को भारी अन्तरले हार बेहोरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० ले पराजित भएको थियो । उता म्यानमारले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रेलियासँग ३–१ ले पराजित भएको थियो ।

आज नेपाली समयअनुसार ६:१५ बजे शुरु हुने खेलमा नेपाल प्रतिष्ठाका लागि भिड्दै गर्दा म्यानमारको लक्ष्य भने फराकिलो अन्तरले जित निकाल्नु हुनेछ । आजको खेलमा राम्रो गोल अन्तरले जित निकाले म्यानमार प्रतियोगिताको अन्तिम चरणका लागि छनौट हुन सक्नेछ ।

जुन यु–२० महिला विश्वकप खेल्ने आधार पनि हो । छनौट प्रतियोगिता अन्तरगत आज नै अष्ट्रेलिया र उज्बेकिस्तान पनि भिड्दै छन् । समूहको शिर्ष दुई टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । जहाँ अष्ट्रृेलिया, उज्बेकिस्तान र म्यानमारको समान सम्भावना छ । यद्यपि अष्ट्रेलियालाई आज बराबरी नतिजा पनि प्रर्याप्त बन्नेछ ।