झापा । नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघिका दुवै खेलमा हार ब्यहोरेको मनाङलाई आजको खेल जित्नै पर्ने दबाव छ । दुई खेल सकिदासम्म अंकविहीन मनाङ पञ्जाबलाई पराजित गर्दै उत्कृष्ट पुनरागमन गर्न चाहन्छ ।

यता, पञ्जाब पनि मनाङलाई आफ्नै घरेलु मैदानमा पराजित गर्ने लक्ष्यमा छ । मनाङभन्दा पञ्जाब निकै बलियो टिम हो ।

मनाङले आफ्नो पहिलो खेलमा बंगलादेशको अबहानी क्लबलाई १-० ले नतिजा सुम्पेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा पनि भारतको चेन्नाइन एफसीसँग २-० ले हारेपछि दबाबमा आएको हो ।

समूह ‘ई’ मा रहेको मनाङ अंकविहीन बन्दा अरु सबै टिमले अंक जोड्न सफल भएका छन् । पञ्जाबले यसअघिका दुवै खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ ।