काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

अपरान्ह ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन् । जारी प्रतियोगितामा थ्रीस्टार माईभ्याली फुटबल क्लब इलामलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने आर्मीले धरान फुटबल एफसी सुनसरीलाई हराउँदै अन्तिम चारमा पुगको थियो ।

सिजनको प्रर्दशनका आधार दुवै टोली उपाधीका दाबेदार टिम हुन् । आर्मीले भर्खरै सम्पन्न आठौँ राष्ट्रिय पुरुष फुटबलमा स्वर्ण जितेको थियो भने थ्रीस्टार भने दुई साता अघि सम्पन्न सर्हालीको राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन हो । राष्ट्रिय खेलाडी सम्मिलित यी दुई टिमको खेल निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पहिलो सेमिफाइनलबाट नेपाल पुलिस क्लब उपाधि होडमा उभिईसकेको छ । फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख १ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् ।