धरान । २१आंै संस्करणको अन्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ ।

यस अघिका अधिकांश संस्करणहरु घाटामा गएको भएपनि यसपालिको संस्करणमा भने १२ लाख ३४ हजार नाफा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । यस वर्ष फुटबल क्लबले आम्दानी गरेको रकमबाट आसरा सुधार केन्द्रलाई २५ हजार र धरान इलाका प्रहरी भवन निर्माण समितिलाई १ लाख ११ हजार एक सय ११ रुपैया सहयोग समेत गरेको अध्यक्ष राईले बताए ।

गत फागुनमा सम्पन्न भएको प्रतियोगितामा टिकट विक्रिबाट मात्रै १७ लाख ४२ हजार आम्दानी गरेको छ । विभिन्न प्रायोजक र सहयोगी संस्थाहरुबाट गरी जम्मा ७९ लाख ४७ हजार ५ सय ७० रुपैया आम्दानी गरेको क्लबले ६७ लाख १२ हजार ८ सय खर्च गरेको छ ।

प्रतियोगिता आयोजनाको तयारी गरेकै बेला यसपटकको संस्करणमा आम्दानी बढी गर्ने उद्घोष गरेको क्लबले अपेक्षाकृत आम्दानी गर्न नसके पनि अहिलेसम्मकै उच्च मुनाफा निकालेको हो । क्लबले धरानका स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मूल ध्येय राखेर मैदानमा पुरै धरानका खेलाडी उतारेको थियो । धराने खेलाडीले भरिएको टिम फाइनलमा पुगे पनि उपाधी भने जित्न सकेन ।

यस पटकको विजेता दाउफिन्स क्लब अफ्रिकालाई ८ लाख नगद पुरस्कार प्रदान गरिएको थियो । उपविजेता भएको धरानले ४ लाख प्राप्त गरेको थियो ।