किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेपछि कोलकाता नाइट राइडर्सले जारी आईपीएलको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लिग चरणका अन्तिम खेलअघि कोलाकाता पाँचौँ स्थानमा उक्लिएको छ ।

चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स १३ खेलबाट १६ अंक जोडेर प्लेअफमा सुरक्षित भइसकेका छन् । चौथो स्थानमा रहेको सनराइजर्स हैदराबादको १२ अंक छ । पञ्जाबलाई हराएर कोलताकाले पनि १२ अंक नै बनाएको छ । तर नेट रनरेटमा पछि रहँदै पाँचौं स्थानमा छ ।

लिगमा अन्तिम चरणका खेलले प्लेअफमा पुग्ने अन्तिम टोलीको भविष्य फैसला गर्नेछ । अन्तिम चरणमा कोलाकाताले मुम्बई इण्डियन्स र हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछन् ।

त्यसो त पञ्जाब र राजस्थान रोयल्सको सम्भावना पनि गणितीय रुपमा बाँकी नै छ । ११ अंक रहेको राजस्थानले अन्तिम चरणमा दिल्ली क्यापिटल्स र १० अंक रहेको पञ्जाबले शीर्ष स्थानको चेन्नईसँग खेल्नेछ ।

शुक्रबार पञ्जाबले दिएको १८४ रनको लक्ष्य कोलाकाताले १८ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

ओपनर शुभमन गिलले अविजित अर्घशतकीय पारी खेलेपछि कोलकाताले सहज जित निकालेको हो । उनले ४९ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ६५ रन बनाए ।

गिलले पहिलो विकेटका लागि क्रिश लिनसँग ६२, दोस्रो विकेटका लागि रोबिन उथप्पासँग ३८ र तेस्रो विकेटका लागि आन्द्रे रसेलसँग ५० रनको साझेदारी गरे ।

लिनले २२ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाउँदा उथप्पाले १४ बलमा २२ र रसेलले १४ बलमा २४ रनको योगदान गरे । रसेलले २ चौका र २ छक्का प्रहार गरे । दिनेश कार्तिकले १ छक्का र २ चौकासहित अविजित २१ रन जोडे ।

यसअघि घरेलु मैदान चण्डीगढमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले मध्यक्रमका साम कुरानको विस्फोटक पारीको सहयोगमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । छैटौं नम्बरमा ब्याटिङमा आएका इंग्लिस अलराउण्डर कुरानले २४ बलमा ७ चौका र २ छक्कासहित अविजित ५५ रन बनाए ।

ओपनर क्रिश गेल १४ र केएल राहुल २ रनमै आउट भए पनि मध्यक्रममा मयंक अग्रवालले ३६, निकोलास पुरनले ४८ र मन्दीप सिंहले २५ रन बनाएर पारी सम्हालेका थिए । कोलकाताका लागि सन्दीप वारियरले २ विकेट झारे ।