झापा । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेभमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ ।

विजेता बनेको पुलिसले नगद १० लाख एक हजार रुपैयाँसहित ट्रफि प्राप्त ग¥यो । उपविजेतामा सीमीत बनेको आर्मीले पाँच लाख एक हजार रुपैयाँमा चित बुझायो ।

खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक रोशन खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । राइजिङ प्लेयर काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ घोषित भए । उनले २१ हजार नगद पाए ।

गोल्डकपको उत्कृष्ट गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी घोषित हुँदा बेष्ट डिफेन्स पुलिसकै आषिश गुरुङ भए । उनीहरुले जनही २१ हजार पाए ।

त्यस्तै, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे घोषित हुँदा बेष्ट स्ट्राइकर आर्मीकै नवयुग श्रेष्ठ भए । उनीहरुले पनि समान २१ हजार पाए ।

बेष्ट कोच पुलिसका अनन्तराज थापा घोषितहुँदै नगद २१ हजार सुरक्षित गर्दा बेष्ट प्लेयर अफ दी टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैयाँ पुरस्कार पाए ।

बैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक सहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।