झापा । ग्यालेक्सी फिटनेस बिर्तामोडका उमेश राई (जीवन) सातौँ मिस्टर हिमालय २०७६ च्याम्पियन बनेका छन् ।

शनिबार काठमाडौँमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौलभन्दा माथिको समूहबाट प्रतिस्पर्धा गरेका जीवनले अन्य ५ वटा तौल समूहका विजेतालाई पराजित गर्दै उनी मिस्टर हिमालय च्याम्पियन बनेका हुन् ।

जीवनले ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा विजेता बन्दै आएका प्रतिस्पर्धीलाई ओभर अल राउण्डमा पराजित गरेका थिए ।

झापाबाटै गो फिटका तुल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । उनी ७५ केजीभन्दा माथिको तौल समूह प्रतिस्पर्धी थिए । उनलाई ग्यालेक्सीका जीवन राईले तौल समूहमा पछि पारेर ओभर अल राउण्डमा पुगेका थिए । तुल श्रेष्ठ आफ्नो तौल समूहमा दोस्रो भए ।

मिस्टर हिमालयको उपाधि जितेसँगै जीवनले बडी बिल्डिङ (शारीरिक सुगठन प्रतियोगिता)को महत्वपूर्ण उपाधिमाथि ह्याट्रिक पनि पूरा गरे । यसअघि मिस्टर एभरेष्ट २०७५ र मिस्टर साउथ एसिया च्याम्पियन २०७५ को उपाधि पनि ग्यालेक्सीका जीवनले नै सुरक्षित गरेका थिए ।

जीवनले रक्षा गरेको उपाधिले नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि महत्व राख्दै आएको छ । मिस्टर हिमालयनको उपाधिसँगै जीवनले नगद २ लाख ५० हजार पाए ।

ग्यालेक्सीका सञ्चालक चन्द्र लाफाका अनुसार जीवनले उपाधिसँगै माउन्टेन फ्लाइट, थाइल्याण्ड टुरजस्ता पुरस्कार पनि पाएका छन् ।
गत महिना झापाको बिर्तामोडमा सम्पन्न मिस्टर मेचीमा ग्यालेक्सीकै सुमन लिम्बू च्याम्पियन बनेका थिए ।