धनकुटा/ शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका टिमसहित आठ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा रोयल फुटबल क्लब भारत, फ्रेन्डस् क्लब काठमाडौं, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, आयोजक धनकुटा–११, बिर्तामोड युनाडेड क्लब झापा, विन्दाबासिनी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी र दाफिन्स क्लब क्यारुनले सहभागिता जनाउने आयोजक समितीका संयोजक शम्भु प्रधानले जानकारी दिए।

उदघाटन खेलमा रोयल फुटबल क्लब भारत र विन्दाबासिनी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ। रोयल भारतका राम्रा खेलाडी भएको टिम हो भने विन्दाबासिनी फुटबल क्लब मोरङमा राष्ट्रिय लिग खेल्ने खेलाडीको बाहुल्यता छ।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ र गोल्डकप, उपविजेताले दुई लाख रुपैयाँ पाउने छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) बाट पुरस्कृत गरिने तथा उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालन गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ। प्रतियोगिता सञ्चालनका लागि धनकुटा नगरपालिकाले सात लाख रुपैयाँ अनुदान दिने भएको छ। त्यस्तै, प्रायोजक रुस्लान भोड्काले तीन लाख, टिकट बिक्रीबाट चार लाख रुपैयाँ र अन्य रकम विभिन्न संघसंस्था र व्यक्तिबाट संकलन गरिने बताइएको छ।

धनकुटाका भीमनारायण श्रेष्ठलाई विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ मा गोली हानी हत्या गरिएको थियो। श्रेष्ठलाई एक वर्षअधि मात्रै राष्ट्रिय सहिद घोषणा गरेको थियो।

शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ मा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ। त्यसबेला धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वडा कपको रुपमा सुरु गरेका थिए।

यसलाई वडामा मात्रै सीमित गर्न नहुने सबैको प्रतिक्रिया आएपछि सोही वडा कपलाई शहीद भीमनारायण कपको रुपमा नामाकरण गरिएको हो। प्रत्येक वर्ष हुँदै आएको यो प्रतियोगिता २०७४ मा भने टुँडिखेल मर्मतको प्राविधिक कारणले हुन सकेन।