धनकुटा । यहाँ आयोजित अग्नि बसुन्धरा रारा गोल्डकपको नवौँ संस्करणको च्याम्पियन मोरङको सगरमाथा एफसी भएको छ ।

बुधबार राजारानीमा सम्पन्न फाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २-० गोलमा स्तब्ध बनाउँदै सगरमाथाले उपाधि चुमेको हो । उसका लागि मनोज राईले खेलको ७२औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

कडा प्रतिस्पर्धा भएको खेलमा दोस्रो गोल सगरमाथाका भुवन बस्नेतले ७९औँ मिनेटमा गरेको थिए । चर्च ब्वाइजका खेलाडीले पाएको अवसर सदुपयोग हुन नसक्दा पराजित हुन बाध्य बन्यो ।

खेलको म्यान अफ दी म्याच सगरमाथाका मनोज राई घोषित हुँदै नगद पाँच हजार पाउन सफल भए । उत्कृष्ट गोलकिपर सगरमाथाकै पूर्ण चेम्जोङ घोषित भएर १० हजार पाउन सफल भए । त्यस्तै, चर्च ब्वाइजका छिरिङ गुरुङ बेस्ट डिफेन्डर, चर्च ब्वाइजकै विवेक पौडेल बेस्ट मिडफिल्डर, सगरमाथाका भुवन बस्नेत बेस्ट स्ट्राइकर घोषित हुँदै जनही १०-१० हजार पाउन सफल भए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथाका विष्णु सुनुवार घोषित भएर नगद २० हजार पाउन सफल भए । प्रतियोगिताको उदीयमान खेलाडी आयोजक रारा एफसीका नरेन्द्र विक घोषित भएर १० हजार पुरस्कार पाउँदा उत्कृष्ट प्रशिक्षकमा सगरमाथाका रवि गुरुङ घोषित हुँदै नगद १० हजार पाउन सफल भए । त्यस्तै, प्रतियोगितामा सर्वाधिक दुई गोल गरेर दाउफिन्स एफसीका पेटेंगाले नगद १५ हजार पाए ।

गोल्डकपको विजेता सगरमाथा एफसीले नगद २ लाखसहित ट्रफी पायो भने उपविजेता चर्च ब्वाइजले नगद एक लाखमा चित्त बुझायो ।