काठमाडौं । जारी शहीद स्मारक सी डिभिजन लिग छनौटमा झापा फुटबल क्लबले उत्कृष्ट जीत हात पारेको छ । शुक्रबार बुद्धि विकास खेल मण्डलमा भएको खेलमा झापाले डाइनामाईट एफसीलाई ४–० ले हरायो ।

झापाका लागि खेलको दोस्रो मिनटमै सौरभ लिम्बूले पहिलो गोल गरे । त्यस्तेै ४९औं मिनटमा सौरभले नै झापाको अग्रता दोब्बर पारे ।

खेलमा एकपक्षीय जीत हात पारेको झापाका लागि ७४औं मिनटमा अंकुर तामाङले तेस्रो गोल गरे भने लगतै ७५औं मिनटमा कमिन लक्समले चौथो गोल गर्दै झापाली टोलीको उत्कृष्ट जीत सुनिश्चित गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगितामा विभिन्न जिल्लाका कुल ३८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताको शीर्ष तीन टोलीले सी डिभिजनको मान्यता पाउने छन् ।