सुनसरी । सातौँ भलुवा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा सोमबार आज विजयी हुँदै सयुक्त युवा क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
तनावपूर्ण खेलमा संयुक्तले सुनसरीकै गोधुली एफसी धरानलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेल सञ्चालन भइरहेको अवस्थामा संयुक्तका निशान लिम्बू र गोधुलीका अशोक खवासबीच हात हालाहाल भएको थियो । रेफ्री विक्रम कार्कीले दुवैलाई रेड कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो ।
खेलमा पहिलो हाफको इन्जुरी समयमा सुरेन्द्र खवासले गोल गर्दै संयुक्तका लागि खाता खोलेका थिए । त्यस्तै, म्यान अफ दी म्याच घोषित सञ्जोग राईले खेलको ८०औँ मिनेटमा थप गोल गरेर टिमको जीत सुनिश्चित गरेका थिए । उनले म्यान अफ दी म्याच भएवापत नगद ५ हजार पाए ।
भोलिको अन्तिम क्वाटरफाइनल खेल भारतको रोयल एफसी सिलिगुडी र काठमाडौँको मदन भण्डारी स्पोर्टिङ क्लबबीच हुनेछ । यस गोल्डकपको विजेताले नगद ३ लाख पाउनेछ ।