सुनसरी । काठमाडौँको मदन भण्डारी स्पोर्टस् एकाडेमी भलुवा गोल्डकपको सातौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको चारतारे फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा स्थान सुरक्षित गरेको हो । खेलको १६औँ मिनेटमा काठमाडौँका लागि सुशिल लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एकोहोरो दबाब सिर्जना गरेको काठमाडौँका लागि ३८औँ मिनेटमा गोल गर्दै अजित गुरुङले अग्रता दोब्बर बनाए । पहिलो हाफ २–० गोलअन्तरमा रहेको चारतारेलाई पराजित गर्न विदेशी खेलाडी यानिक ओवानाले खेलको ५४ र ६९औँ मिनेटमा दुई गोल गरे ।

चारतारेका लागि सान्त्वना गोल भने ८१औँ मिनेटमा राजीव लोप्चनले गरेका थिए तर जीतका लागि सम्भव भएन । खेलको म्यान अफ दी म्याच काठमाडौँका सुशिल लामा घोषित भए । उनले नगद ५ हजार पाए । यो जीतसँगै काठमाडौँले सुनसरीको संयु क्त युवा क्लब सिमरियासँग फाइनल भेट पक्का गरेको छ ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद ३ लाख र उपविजेताले एक लाख ५० हजारसहित ट्रफी पाउनेछ ।