काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि दुई प्रायोजन थप भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहिबार एक कार्यक्रमको आयोजना गरेर टेलिभिजन लाइभ पार्टनरको रुपमा एभिन्युज र मञ्चको आधिकारिक पोसाकको रुपमा कामारु ट्रेडिङ प्रालिको केल्मी नेपालसंग प्रायोजन सम्झौता गरेको छ ।

मञ्चले एभिन्युजसंग सम्झौता नविकरण गरेको हो भने आधिकारिक पोसाकको रुपमा केल्मी नेपालसंग नयाँ प्रायोजन सम्झौता गरेको हो ।

टेलिभिजन पार्टनरको रुपमा एभिन्युजले अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र एभिन्युज टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत समृद्वि राजकर्णिकारले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेलिभिजनकी सिईओ राजकर्णिकारले देशकै प्रष्ठित अवार्डलाई टेलिभिजन पार्टनरको रुपमा निरन्तरता दिन पाउँदा खुसी लागेको बताउनुभयो ।

यस्तै, मञ्चले आधिकारिक पोसाकको रुपमा केल्मी नेपालले तीन बर्षको औपचारिक सम्झौता गरेको छ । मञ्चका अध्यक्ष सुवेदी र कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार केल्मी नेपालले आयोजक मञ्चलाई केल्मीको पोलो टी-सर्ट र ट्रयाकसुट उपलब्ध गराउनेछ । सम्झौतापछि प्रबन्ध निर्देशक न्यौपानेले देशकै अग्रणी खेल सामाग्री ब्राण्डको रुपमा केल्मी नेपाल अघि बढिरहेको बताउनुभयो ।

राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी रहेको केल्मी नेपालले घरेलु फुटबलकै लोकप्रिय क्लब मनाङ मस्र्याङ्दी लगायत विभिन्न खेलसंग सम्बद्व संस्थासंग जोडिदै आईरहेको छ ।

मञ्चका अध्यक्ष सुबेदीले नीजि क्षेत्रको सहकार्यले अवार्ड कार्यक्रमलाई नयाँ उचाईमा पु¥याउन सहयोग पुगेको बताउनुभयो ।

पल्सर स्पोट्र्स अवार्डको १६ औ संस्करण यही असार १७ गते आयोजना हुदैछ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघिनै अवार्डको मिति घोषणा गर्नुका साथै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनीक गरिसकेको छ ।

बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्जवल ओलीले बताउनुभयो । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको दिननै घोषणा गरिनेछ । यसपटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल र अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजनसम्झौता नवीकरण भइसकेको छ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता नवीकरण गरिएको छ ।

कार्यक्रमका अन्य पार्टनरमा सूर्य नेपाल प्रालि, रोयल सिंगी होटल, सगरमाथा सिमेन्ट, गोल्डस्टार, रुस्लान फुटबल, टाइमेक्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।