काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय एन्फा नेतृत्वसंग असन्तुष्ट रहदै आएका पाण्डेले अन्तर्राष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

उनले फुटबलको सेवा गर्ने मौका दिएकोमा एन्फालाई धन्यवाद दिएका छन् । नेपाली फुटबललाई समर्थन गर्ने आफ्नो अठोट जीवनको एउटा अंग भएको उल्लेख गर्दै उनले आफू जहाँ भए पनि फुटबललाई सहयोग गर्न पाउदाँ खुसी हुने बताएका छन् ।

ब्यङ्ग्यात्मक शैलीमा उनले भनेका छन्, ‘तिमी सबैलाई नजिकबाट चिन्न पाएकोमा म धन्य छु ।’

उनले नेपाली फुटबलको विकासको कामना गर्दै एन्फाका महासचिव ईन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएको उल्लेख गरेका छन् ।
एन्फा नेतृत्वसंग असन्तुष्टी जनाउँदै उनले केही महिना अघि पदबाट राजीनामा दिएका थिए । तर, त्यसको औपचारिक घोषणा हिजो पत्रमार्फत गरेका छन् ।

एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा निर्वाचित हुने बित्तिकै कार्यसमितिको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । पाण्डे वर्तमान अध्यक्ष शेर्पाको ‘चेन्ज एन्फा’ अभियानका महत्वपुर्ण सदस्य थिए ।

आफ्ना योजना र सल्लाह नेतृत्वले बेवास्ता गरेको भन्दै उनी पछिल्लो समय एन्फा जान छाडेका थिए । एन्फा प्रवक्ता किरण राईले राजीनामाको बिषय आफूलाई थाहा नभएको बताउँदै बुझेर प्रतिक्रिया दिने बताए ।

पाण्डेले किन छाडे एन्फा ?
एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले एन्फामा आफ्नो औचित्य नदेखेको कारण पदबाट राजीनामा दिएको बताएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको सल्लाहकार समेत रहेका पाण्डेले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

तत्कालिन अध्यक्ष गणेश थापाविरुद्वको आन्दोलनमा शेर्पासंग जोडिएका पाण्डे ‘चेन्ज एन्फा’ अभियानका अभियन्ता हुन् ।

‘संस्थामा आफ्नो आवश्यकता देखिन । एन्फा जुन दिशामा जान पर्दथ्यो, जे उद्वेश्य लिएर आएको थियौ, त्यो काम भएन’, उनले भने, ‘भोली गलत कामको जिम्मेवार म पनि हुन्छु । सोही कारण पदबाट राजीनामा दिएको छु ।’

उनले बर्तमान फुटबलमा भएको गतिविधि कस्मेटिक भएको भन्दै अहिलेको अवस्थामा फुटबलको गुणात्मक परिर्वन हुन नसक्ने उल्लेख गरे ।

‘हिजो पनि कस्मेटिक काम भएको थियो । फुटबल चलेकै थियो । १५ बर्ष अघि फुटबल सुरु हुदा समेत ग्रासरुट भएको थियो । विभिन्न कार्यक्रम भएका थिए’, पाण्डेले भने, ‘तर हामी सुशासनमा चुकेका थियौ । सामुहिक नेतृत्व, पारदर्शीता र सुशासनका लागि हामी जसरी लडेका थियौ । त्यसको कतैपनि एक लक्षण समेत देखिन ।’

‘नबुझेको मान्छेलाई छारो हाल्न ठिक छ । विभिन्न तर्क दिन सकिन्छ । तर गरिएका कुरा अगाडी लैजान प्रणाली एन्फाभित्र छैन । आफ्नो कुनै औचित्य देखिन’, उनले भनेका छन् ।

तत्कालिन अध्यक्ष गणेश थापाले एन्फाभित्र गरेको भनिएको भ्रष्टाचारको बिषयलाई अन्तराष्ट्रिय स्तरमा लबिङ गर्ने काम पाण्डेले गरेका थिए । पछिल्ला ८ बर्षदेखि वर्तमान नेतृत्वसंग जोडिदै आएका पाण्डेले अब अलग बाटो तय गर्ने निर्णय लिएका हुन् । खेलपाटीमा समाचार छ ।