झापा- हात्ती कोरिडोर र रेडपाण्डाको वासस्थान संरक्षणका लागि नेपाली र भारतीय युवाले काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्म मोटरसाइकल यात्रा सुरु गरेका छन् । प्रदेश सरकारको पर्यटन तथा वातावरण समितिकी सभापति सांसद सीता थेवेले काँकरभिट्टाबाट यात्रीलाई बिदाइ गरिन् ।
यात्रामा नेपाल र भारतका २० जना मोटरसाइकल यात्री सहभागी छन् । आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले मेची पहाडी क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचानसँगै सन्दकपुर क्षेत्रको थप चिनारीका लागि यात्रा सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार सन्दकपुरमा बर्सेनि हजारौं पर्यटक भारतीय बाटोबाट घुम्न आउँछन् । ‘नेपालको बाटोबाट पनि सन्दकपुर पुग्न सकिन्छ भन्ने सन्देश दिन यात्रा आयोजना गरिएको हो’, धौरालीले भने, ‘यो बाटो प्रयोग भए नेपालका अन्य पर्यटकीय गन्तव्यको समेत प्रवर्द्धन हुन सक्नेछ ।’
यात्राका क्रममा रेडपाण्डाको बासस्थान र हात्ती कोरिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने जनाइएको छ । मूलतः झापाको उत्तर भेग हात्तीको कोरिडोर हो । तर, मानव बस्ती बसेपछि उनीहरू हिँड्ने बाटो मासिँदै गएको देखिन्छ । ‘हात्ती संरक्षण गरेर पर्यटक तान्ने माध्यम बनाउन सकिन्छ’, झापाको ग्रिन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीले भने, ‘हात्ती विदेशी मुद्रा आर्जन गर्ने दरिलो माध्यम हुन सक्छ ।’
यात्राका क्रममा टोलीले विभिन्न पर्यटकीय गन्तव्यहमा नेपाली कला र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसहित पर्यटन विकासबारे स्थानीयसँग प्रत्यक्ष संवाद पनि गर्नेछ ।
प्रदेश सरकारका पर्यटन सचिव वद्री ढुंगानाले मेची पहाडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा यात्रा कोसेढुंगा सावित हुने बताए । प्रदेश सांसदहरू राम राना (इलाम), श्रीप्रसाद मैनाली (झापा) र मेचीनगरका मेयर विमल आचार्यले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा गर्न सघाउ पुग्ने आजको कान्तिपुरमा खबर छ ।