बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ ।

मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १-० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनालीले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए । उनले नगद तीन हजार पाए ।

प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भूजेल, बेस्ट फरवाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित भए ।

उनीहरुले जनही पाँच हजार पाए भने मस्ट भ्यालुयवल खेलाडी पूर्वेलीका योगेश गुरुङ भए । उनले नगद १० हजार पाए । उदयीमान खेलाडीको पुरस्कार आयोजक रेड स्टार फुटबल क्लबका गोल किप्पर शौरभ गुरुङलाई प्रदान गरियो ।

त्यस्तै, सर्वाधिक गोलकर्ता रेड स्टारकै शक्ति राई बने । उनले एकै खेलमा ह्याट्रिक गरेका थिए । उनीहरुको नगद राशि जनही पाँच पाँच हजार थियो ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेता पूर्वेलीले नगद १ लाख ५१ हजार १११, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको पाञ्चायनले ७५ हजार १११ रुपैयाँमा चित्त बुझायो ।