झापा । पूर्व फुटबलर झापाका हरि खडकाले नेपाली महिला फुटबलको प्रशिक्षक सम्हालिरहँदा झापाकी अस्मिता खवासले पनि गोलरक्षकको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी थिइन् ।

तर, अब प्रशिक्षक हरि खड्का र अस्मिता खवास मात्र नभएर मिन बस्नेतले पनि नेपालको उमेर समूहको राष्ट्रिय टोली सम्हाल्ने भएका छन् । एन्फाले मंगलबार घोषणा गरेअनुसार झापा चन्द्रगढीका खडका महिला सिनियर टिमको मुख्य प्रशिक्षक चयन भएका छन् ।

उनी ओलम्पिक छनौट अघिबाट महिला टिमको मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । खड्काले ६० को दशकमा नेपाली पुरुष टिमलाई समेत कप्तानी गरेका छन् । उनले ४१ क्याप जित्दै १३ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् ।

त्यसैगरी यु-१९ महिला टिमकी गोलरक्षक प्रशिक्षक रहेकी मेचीनगर नगरपालिकाकी अस्मिता पहिलो पटक सिनियर टिमको गोलरक्षक प्रशिक्षक नियुक्त भएकी हुन् । यसअघि मृगेन्द्र मिश्रले गोलरक्षकलाई प्रशिक्षण दिइरहेका थिए ।

तर, मिश्र पुरुष टिमको गोलकिपर प्रशिक्षक भएपछि अस्मिताले मौका पाएकी हुन् । अस्मिता सन २०१६/१७ को चौथो साफमा सहायक प्रशिक्षक थिइन् । उनले ६० को दशकमा नेपाली महिला राष्ट्रिय टोलीको गोलपोष्ट सम्हालेकी थिइन् ।

मेचीनगरकै मीन बस्नेतले यु-१५ महिला टिमको गोलरक्षकलाई प्रशिक्षण दिने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष बस्नेतले ६० को दशकमा नेपालका विभिन्न ए डिभिजन क्लबको गोलपोष्ट सम्हालिसकेका छन् ।

यस्ता छन्, उमेर समुह र ७ प्रदेशमा प्रशिक्षक
एन्फाले दक्षिण एसियाली खेलकुद (साग) टिम, यू-१६, यू-१८, यू-१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाले नेपालमा आयोजना हुने सागको पुरुष टिमको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन, सहायक प्रशिक्षक राजेश मानन्धर र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई चयन गरेको छ ।

साग टिम महिलाको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवासलाई चयन गरेको छ । यू–१६ को पुरुषको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायकमा राजकुमार केसी, गोलकिपरमा बिनोद डंगोल चयन हुँदा यू-१८ पुरुषको मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलकिपरमा छन्नुराम चौधरी चयन भएका छन । यू-१५ महिलाको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायकमा भगवती थापा, गोलकिपरमा मिन बस्नेत रहेका छन् ।

यस्तै बुटवल एकेडमीका लागि मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायकमा पुकार गहतराज र गोलकिपरमा दिलिप छत्री चयन भए । धरान एकाडेमी र प्रदेश १ को मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् । त्यस्तै प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, प्रदेश ४ मा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी, प्रदेश ६ र ७ मा दिपेश योञ्जन चयन भएका छन् ।