झापा । फ्रान्समा जारी महिला विश्वकपमा दक्षिण कोरियाले दोश्रो हार व्यहोरेको छ।

समुह ए को पहिलो खेलमा आयोजकसँग ४-० ले पराजित कोरियालाई नाइजेरियाले २-० ले हराएको हो। उपहार गोलबाट नाइजेरियाले अग्रता बनाएको थियो । २९औ मिनेटमा कोरियाली डिफेन्डर किम-डो-योनले बल क्लियर गर्ने क्रममा आफनो पोष्टमा आत्मघाती गोल गरेकी थिइन्।

पहिलो हाफमा १-० गोलको अग्रत बनाएको नाइजेरियाले ७५ औ मिनेटमा दोश्रो गोल गर्यो । चिडिन्मा केरुका ओकेकेले सेन्टर नजिकैबाट दिएको क्रसमा कोरियाली गोलरक्षक मिन-जोङ किम लाई छलाउँदै एसिसेट ओसोअलाले अग्रता दोव्बर बनाइन् ।

कोरियाले खेल आफनो पकडमा राखे पनि जित निकाल्न सकेन। दोश्रो खेलमा पराजय भएसँगै दक्षिण कोरियाको नकआउट चरण प्रवेश कठिन बनेको छ। उस्ले आगामी २ वटै खेलमा स्पष्ट जित निकालेको खण्डमा मात्र नकआउट चरणको सम्भावना कायम रहन्छ।

जितसँगै ३ अंकको साथ नाइजेरिया समुहको तेश्रो स्थानमा रहेको छ। अंकविहीन दक्षिण कोरिया चौथो स्थानमा रहेको छ। नाइजेरिया आफनो पहिलो खेलमा नर्वेसँग ३-० ले पराजित भएको थियो। महिला विश्वकपमा नाइजेरियाको एसियाली राष्ट्र विरुद्धको पाँचौ भेटमा दोश्रो जित हो।

यसअघि सन १९९९ मा उत्तर कोरियालाई २-१ ले हराएको थियो। समुह चरणको दोश्रो खेलमा नाइजेरियाले पहिलो पटक जित निकालेको हो। यसअघिका ७ खेलमध्ये ६ खेलमा पराजित बनेको थियो।

दक्षिण कोरियाले विश्वकपमा सहभागीता जनाएको ८ खेल मध्ये १ खेलमा जित र १ बराबरी गरेको छ। सन २०१५ को संस्करणमा स्पेन विरुद्ध २-१ को जित र कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै पहिलो पटक समुह चरण पार गरेको थियो।