एजेन्सी- फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
उरुग्वेले खेलको सुरुवाती समयमा नै अग्रता लिँदै पकड जमाएको थियो । लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । २४ औं मिनेटमा जोसे क्विन्टेरोस सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो ।
३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । उनले गोडीनको हेडर पासलाई ६ यार्ड बक्सभित्र उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए ।
पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३-० को अग्रता दिलाए । कर्नरमा क्लियर हुन नसकेको बललाई सुआरेजले ६ यार्ड बक्स भित्रबाट गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफमा य्र्य्गवेले आक्रमण बुनेपनि गोल थप्न भने आत्मघाती गोलको सहारा लिनुपर्यो । अर्टुरो मिनाको आत्मघाती गोलमा उरुग्वेले ७८ औं मिनेटमा ४-० को अग्रता बनायो । मिनाले क्लियर गर्न खोजेको प्रहार सिधै आफ्नै पोस्टमा छिरेको थियो ।
यस जितसँगै उरुग्वेले समूह ‘सी’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र उरुग्वेसँगै यस समूहमा जापान र चिली पनि रहेका छन् । उरुग्वेले अब अर्को खेलमा शुक्रबार जापानसंग खेल्नेछ ।