गाईघाट । छैटौँ उदयपुर गोल्डकपको तेस्रो क्वाटरफाइनलमा टाइब्रेकरबाट भाग्यमानी सावित हुँदै मोरङ फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सोमबारको खेलमा नेपाल पुलिस क्लबले २-१ गोलको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । मोरङले टाइब्रेकरमा ४-२ गोल अन्तरले पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ११औँ मिनेटमा मोरङका लागि नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । तर, मोरङले त्यो अग्रता धेरै समय टिकाउन सकेन । पुलिसका रवि पासवानले खेलको १९औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यस्तै, पहिलो हाफको ४४औँ मिनेटमा आत्मघाती गोलबाट पुलिसले अग्रता दोब्बर बनायो ।

पुलिसका रवि पासवानले प्रहार गरेको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । रविको प्रहारमा आएको बललाई क्लियर गर्न खोज्दा विकास खवासको अन गोल भएको थियो ।

२-१ गोलको अग्रतामा रहेको पुलिसलाई रोक्न खेलको दोस्रो हाफको २६औँ मिनेट पर्याप्त रह्यो । दोस्रो हाफको १५औँ मिनेटमा सुधारिएको खेल पस्केको मोरङ खेलमा फर्किंदै बराबरी गर्न पुग्यो । उसका लागि नवयुग श्रेष्ठले नै गोल गरेर खेललाई बराबरीमा पुराए ।

टाइब्रेकरमा पुलिसका लागि सुमन लामा र दिनेश गुरुङले मात्र गोल गरे । अजित भण्डारी प्रहार मोरङका गोलरक्षक सूर्य अधिकारीले बचाए भने कप्तान भरत शाहको प्रहार बाहिरियो ।

\मोरङका लागि विवेक पौडेल, कप्तान दिपक राई, विक्रम लिम्बू र उमेश कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउन सकेनन् ।

खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक सूर्य अधिकारी घोषित भए । उनले नगद ७ हजार पुरस्कारस्वरुप पाए ।

स्थानीय थरुहट रंगशालामा मंगलबार गोर्खा ब्वाइज रुपन्देही र सिएमजी संकट क्लब काठमाडौँले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।