एजेन्सी- कप्तान इओन मोर्गनले कीर्तिमानी विष्फोटक शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनायो । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो अहिले सम्मकै उच्च योगफल समेत हो ।

इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न कप्तान मोर्गनले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरे । गुलवदीन नाईबको ४७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै क्याच आउट हुनुअघि मोर्गनले मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनमा क्याच आउट भए । योसँगै मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले क्रिस गेलको रेकर्ड तोडेका हुन् ।

मोर्गनले मात्रै ५७ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए मोर्गनले ४३ ओभरको अन्तिम बलमा राशिद खानलाई छक्का प्रहार गर्दै विश्कपमा आफ्नो पहिलो शतक समेत पुरा गरे । त्यस्तै जो रुटले ८८ रनको योगदान दिए । ४७ ओभरको चौथो बलमा गुवदीन नाईबको बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि ८२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गर्दा इंग्ल्यान्डले विशाल योगफल बनाएको हो ।

जोनी बेयरस्टोले ९९ बलमा ८ चौका र ३ छक्का सहित ९० रनको योगदान दिए । ३० ओभरको पाँचौ बलमा कप्तान गुवदीन नाईबले आफैं उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएपछि शतक पुरा गर्न १० रनले चुकेका थिए । बेयरस्टो र रुटलो दोस्रो विकेटका लागि १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

त्यस अघि १० ओभरको तेस्रो बलमा दलावत जदरानले मुजिव उर रहमानबाट क्याच गराउँदै ओपनर जेम्श भिन्सलाई २६ रनमा आउट गराए । ठूलो शट खेल्ने धुनमा आउट हुनुअघि भिन्सले ३१ बलमा ३ चौका प्रहार गरे ।

तल्लोक्रमका बेन स्टोक्स र जस बटलरले समान २ रनमा आउट भए । त्यस्तै मोइन अलीले ९ बलमा ४ छक्का र १ चौका सहित ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि कप्तान गुवदीन नाइब र दलावत जदरानले समान ३ विकेट हात पारे । लेग स्पिनर राशिद खानले ९ ओभरमा १सय १० रन खर्चेपनि कुनै विकेट लिन सकेनन् ।