झापा । नेपाल पहिलो पटक अविष्कार केन्द्र सञ्चालन हुदै गर्दा झापामा एक जना युवा वैज्ञानिकले साइरन ड्रोन निर्माण गरेर जंगली हात्ती धपाउने नयाँ प्रबिधि अविष्कार गर्नुभएको छ ।

भद्रपुर नगरपालिका-१ निवासी अनिल प्रधानले आफ्नै घरमा साइरन जडान गरिएको ड्रोन निर्माण गरि जंगली हात्ती धपाउन सबैभन्दा प्रभावकारी नयाँ उपाय प्रयोगमा ल्याउनुभएको हो । प्रधानले भन्नुभयो, ‘मेरो घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामा नै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो ।’ यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्दा परिणाम आएको उहाँले बताउनुभयो ।

यसैक्रममा मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने पत्ता लगाए । यही मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको छ । यसरी जडान गरिएको ड्रोनमा रातो बत्ती समेत प्रयोग गरिएको छ । यही ड्रोन हात्तीको नजिकै लगेर उडाएपछि मौरी आएको त्रासमा हात्ती ठुलो आवाजका साथ गर्जदै जंगल तिर भाग्ने गरेको प्रधानले बताउनुभयो ।

ड्रोन हात्तीले पाँच किलोमिटर दुरीसम्म रिमोटले काम गर्ने भएकाले आफुपनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उहाँको भनाइ छ । यही परिक्षणबाट नयाँ प्रबिधिको प्रयोग सफल भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

हात्तीलाई कुनै क्षति बिना भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको उहाँको दाबी छ । धेरै प्रयोग भएपछि हात्तीले यो प्रबिधिलाई चिनेर नटेर्ने अवस्था समेत आउन सक्छ घिमिरेले बताउनुभयो । डिभिजन वन कार्यालय झापाको समेत सहभागितामा स्थानीय बासिन्दा सहितको टोली हात्ती धपाउन साइरन ड्रोनको परीक्षण गरेका थिए ।

यसको पहिलो पटक बिहीबार र शुक्रवार राती जंगली हात्ती धपाउने औपचारिक परीक्षण सफल भएको छ । परीक्षणको क्रममा शुक्रवार राती साढे दुई बजे भद्रपुर नगरपालिकाकै जलथल क्षेत्रमा आएको पाँचवटा जंगली हात्ती धपाएको थियो । यस्तै बिहीबार राती मेची नपाको दुवागढीमा आएको सातवटा जंगली हात्ती धपाउन सफल भएको थियो ।

कक्षा १२ मा अध्यायनरत प्रधानको सानैदेखि अन्वेषणको बानी थियो । कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा बिषेश रुची रहेको उहाँले बताउनुभयो । यही प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको भद्रपुर नपाका मेयर जीवनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाको लगानी भएकाले ड्रोनमा भद्रपुर नपा साइरन ड्रोन लेखिएको छ ।

यही सहयोगबाट ड्रोनका लागि आवश्यक सामान खरीद गरि कुल अढाई लाखको लागतमा निर्माण गरिएको प्रधानको भनाइ छ ।

हात्ती उपद्रवको जोखिम न्यूनीकरण गर्न १८ किलोमिटर लामो बिद्युतीय बार समेत लागाईको छ । जिल्लाको दक्षिण पूर्वी कचनकवल गाउँपालिकादेखि पूर्वी उत्तरमा मेची नगरपालिकाको बाहुनडाँगीसम्मको १५२ किलोमिटर क्षेत्रलाई हात्ती कोरिडोर क्षेत्र घोषणा गरिएको छ ।

यो क्षेत्रको भौतिक बिकास लगायतका बिषयको लागि भनेर नेपालको संघीय सरकारले आर्थिक बर्ष २०७५/७६मा ६ करोड रुपियाँ विनियोजन गरिएको थियो । जिल्लामा अहिलेसम्म जंगली हात्तीको आक्रमणबाट मात्र ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । यो प्रबिधि हात्ती प्रभावित क्षेत्रका लागि सबैभन्दा राम्रो उपाय मानिएको छ ।