खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रले पशु शाखा प्रमुख र उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गर्दै प्रथम साधारणसभा सोमबार सम्पन्न गरेको छ ।
केन्द्रका अध्यक्ष भीमप्रसाद नेपालको अध्यक्षता र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापाका प्रमुख डा. गंगाराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई र अर्जुनधारा-९ मा रहेको आरके कृषि फर्मका सञ्चालक कमल कडरियालाई सम्मान गरिएको हेो ।
खुदुनाबारी बजारमा आयोजित कार्यक्रममा शाखा प्रमुख राईलाई डा. यादव र उत्कृष्ट किसान कडरियालाई नगर प्रमुख हरिकुमार रानाले सम्मान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष नेपालले गत आर्थिक वर्ष ०७५/०७६ को आम्दानी–खर्च विवरणसहितको संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले आगामी दिनमा नगर क्षेत्रभित्र सञ्चालित परम्परागत बाख्रापालन व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिकतातर्फ अग्रसर गराउने, उन्नत जातको बोयर बाख्रापालनलाई प्रोत्साहित गर्न बोयर जातको बोका खरिद गरी ‘प्रति गोठ एक बोयर’को लक्ष्य पूरा गर्ने, कृत्रिम गर्भाधानलाई प्रोत्साहित गरी शतप्रतिशत नश्लको व्यवस्थापन गर्ने कार्यक्रमहरु उल्लेख गरिएको छ ।
त्यस्तै संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी सात लाख २७ हजार ९३ रुपैयाँ ३३ पैसा, जम्मा खर्च सात लाख दुई हजार पाँच सय र जम्मा बचत २४ हजार पाँच सय ९३ रुपैयाँ ३३ पैसा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख राना, उपप्रमुख कमला खतिवडा आचार्य, सम्मानितका तर्फबाट पशु शाखाका प्रमुख राई, बाख्रा व्यवसायी संघ झापाका अध्यक्ष हर्कबहादुर तामाङ, केन्द्रअन्तर्गत रहेको कालिका बाख्रा पालन समूहकी सदस्य देवकला प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रका उपाध्यक्ष सन्तोषकुमार राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुबोध ढुंगेलले गरेका थिए । तीन वर्ष अघिदेखि सञ्चालन भइ गत आर्थिक वर्षमा विधिवत दर्ता भएको संस्थाअन्तर्गत हाल सात वटा समूहमा ७५ जना बाख्रापालक कृषक आबद्ध रहेका छन् ।