शनिश्चरे । मानवअधिकार समूह अर्जुनधाराले बिहीबार खाद्य अधिकारको सवालमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा खाद्य विज्ञ बोलाएर सरोकारवालासँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन झापाका प्रमुख भरत पुरीले खाद्य अधिकार, गुणस्तरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सरकारले १२९ वटा खाद्यको स्तर मापन गरेको बताउँदै उनले खाद्य गुणस्तरले सरोकारवालासँगमात्र सरोकार नराखी मान्छेको स्वास्थ्यसँग सरोकार राख्ने उल्लेख गरे । सरकारले खाद्य उत्पादनदेखि वितरणसम्म नियमन गर्न सक्ने बताउँदै उनले मिसावटबाट कोही पनि उपभोक्ता ठगिन नहुने बताए ।

समूहका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सोना गेलालले स्वागत गरेकी थिइन् । मानवअधिकार सञ्जालका संयोजक राजन साम्पाङले सञ्चालन गरेको कार्यक्रममा इन्सेक झापा प्रतिनिधि नरेश खातीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रम खाद्य उत्पादक, उत्पादन, वितरणसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।