बिर्तामोड । विदेशी माेडलका माेटरसाइकल पारखीका लागि बिएमडब्ल्यु मोटराड र बेनेलीजस्ता ब्राण्डका मोटरसाइकलको सोरुम पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सञ्चालनमा आएको छ ।

गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक प्रज्ज्वल राईका अनुसार दुवै मोटरसाइकलको आधिकारिक सोरुम प्रदेश नम्बर १ मै पहिलो हो ।

काठमाडौँ बाहिर पोखरा, चितवन, बुटबलपछि झापाको बितर्तामोडमा आधिकारिक विक्रेता कम्पनीले राखेको हो ।

नेपालका लागि बिएमडब्ल्यु मोटराडको आधिकारिक बिक्रेता टर्क मोटर्स् ट्रेडिङ प्रालि र बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटिएम इन्टरनेसनल प्रालिको आधिकारिक बिक्रेताको रुपमा गरुड अटो मोबाइल्स काँकरभिट्टारोडको सुगम पेट्रोलको पारिपट्टि रहेको छ ।

बिहीबार एक कार्यक्रमका बीच गरुड अटो मोबाइलका सञ्चालक प्रज्ज्वल राई, आमा तुलसा सुब्बा राई, झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठ, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम बिमली, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी तथा राईका छोराहरु सेन्चेन, कियान र युन्छोले संयु्क्त रुपमा सोरुम उद्घाटन गरे ।

एकै ठाँउमा जर्मन कम्पनी बिएमडब्ल्यु र इटालियन कम्पनी बेनेलीका मोटरसाइकल, स्पेयर पार्टस्, सर्भिस उपलब्ध हुने भएकाले ग्राहकलाई सुविधा पुग्ने गरुडकी सेल्स एन्ड मार्केटिङ मेनेजर आस्ना लामाले बताइन् । गरुडले प्रदेश नम्बर १ मै अत्याधुनिक सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।

बिएमडब्ल्युका वरिष्ठ सेल्स तथा मार्केटिङ दिपेश श्रेष्ठका अनुसार बिएमडब्ल्युका ३१० देखि १२५० सिसी र बेनेलीका १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकलहरु गरुडले बिक्रीका लागि राखेको छ । बिएमडब्ल्युका दुईवटा मोडल छन् भने बेनेलीका २७ वटा मोडल रहेका छन् ।

चार करोड रुपैयाँभन्दा बढी लगानी रहेकोे सोरुमबाट ४३ वटा मोटरसाइकल बिक्रीका लागि बुक भइसकेको सञ्चालक राईले जानकारी दिए । मार्केट रिसर्च गरेर महँगो मोटरसाइकलको सोरुम खोलिएको उनको भनाइ छ । विशेष गरेर विराटनगर, इटहरी, धरान र बिर्तामोडका ग्राहकलाई लक्षित गरी सोरुम सञ्चालनमा ल्याइएको बताइएको छ ।

एक वर्षअघि मात्र नेपालमा भित्रिएको बिएमडब्ल्यु मोटरसाइकलहरु ९ लाख ५० हजार रुपैयाँदेखि ११ लाख १५ हजार रुपैयाँसम्म उपलब्ध छन् । त्यस्तै, बेनेलीलाई २ लाख ३० हजार रुपैयाँदेखि ८ लाख ५० हजार रुपैयाँसम्म पर्ने राईको भनाइ छ ।

उद्घाटनको अवसरमा बिएमडब्ल्यु मोटराडमा विभिन्न अफरहरु पनि सार्वजनिक गरिएको छ । बिएमडब्ल्युको खरिदमा ५० हजार रुपैयाँबराबरको बाइक एसोसरिज, एजिभी ब्रान्डको हेलमेट, ३ वर्षको फ्रि सर्भसिङ अफर रहेको छ । साथै, सहज फाइनान्स र एक्स्चेन्जको व्यवस्था पनि राखिएको छ ।

पेसाले पाराग्लाइडिङ पाइलट तथा प्रशिक्षक राई झापा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष हुन् । १४ वर्षदेखि अल्ट्रा लाइट र पाराग्लाइडिङ उडाउँदै आएका राईले झापाको बजारमा आधुनिकतासँगै नयाँ स्टाइलिस्ट मोटरसाइकल भित्र्याएका हुन् । मोटरसाइकलको प्राविधिक पनि रहेका राई आफैँले सर्भिस् सेन्टर पनि हेर्नेछन् ।